गोरखा बारपाकमा अध्यक्ष दाहालको सम्बोधन : ‘चुनावका वाचा कहिल्यै भुलेको छैन’

गोरखा, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा जनतासँग गरेका वाचा कहिल्यै नबिर्सिएको बताएका छन्। गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै उनले आफू प्रतिपक्षी नेताको हैसियतमा पनि जनताका मागहरू उठाउँदै आएको बताए।

कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टले गाउँमा बाटो, खानेपानी तथा अन्य पूर्वाधार विकासका कार्यहरू बजेटको अभावमा अलपत्र परेको गुनासो राख्दा अध्यक्ष दाहालले भने, “चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। सरकारमा हुँदा इमान्दार प्रयास गरियो, जे सकियो गरियो, त्यसको मूल्याङ्कन तपाईंहरूले गर्नुहोस्। अहिले पनि उठाइएका यस्ता मुद्दाहरू संसदमा निरन्तर उठाइरहेको छु।”

अध्यक्ष दाहालले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई क्षेत्रीय भेदभाव नगरी सबै स्थानको विकासमा समान ध्यान दिन आग्रह गरे। “यहाँ केही गुनासो पनि आउने गरेको छ,” दाहालले भने, “यहाँ उठाइएका माग र आवश्यकतालाई विकास कार्यमा प्राथमिकता दिन म अपिल गर्दछु।”

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अध्यक्ष दाहालसँग सहकार्य गर्दै प्रदेश सरकारका योजना सबै स्थानीय तहमा पुर्‍याउने प्रतिबद्धता जनाए।

बैठकमा स्थानीय जनप्रतिनिधिहरूले ढुंगा, गिटी, बालुवा निकासी हुँदाहुँदै पनि राजस्व सङ्कलन नहुनुका कारण स्थानीय निकायको आर्थिक स्रोतमा दरार आएको गुनासो पोखे। यसप्रति जवाफ दिँदै अध्यक्ष दाहालले भने, “राजस्व सङ्कलन र पारदर्शिता सुशासनको आधार हुन्। यसका लागि कानुन निर्माण र कार्यान्वयनमा प्रदेश सरकारको सक्रियता अत्यावश्यक छ।”

कार्यक्रमको अन्त्यमा अध्यक्ष दाहालले सुशासन र पारदर्शितालाई विकासको मापदण्ड बनाएर सबै राजनीतिक दल र जनप्रतिनिधि एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिए।–00–

Share:

सम्बन्धित समाचारहरु