काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मु-कश्मीर राज्यस्थित पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी आक्रमणको कडा निन्दा गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत हमलामा ज्यान गुमाएका पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्दै नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको स्पष्ट गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना। नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादका कुनै पनि र सबै कार्यहरूको कडा निन्दा गर्दछ।”
उहाँले घटनामा एक जना नेपाली नागरिक पनि परेको विवरणबारे पुष्टि गर्न सरकार निकट सम्पर्क र समन्वयमा रहेको उल्लेख गर्दै, आवश्यक सम्पूर्ण सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्रीको भनाइमा, “पीडितहरूमा एक नेपाली नागरिक रहेको रिपोर्ट प्रमाणित गर्न निकट समन्वय स्थापित गरिएको छ र आवश्यक सबै सहयोग प्रदान गरिनेछ।”
भारतीय सञ्चारमाध्यमका अनुसार, मंगलबार अपराह्न जम्मु-कश्मीरको बैसरन उपत्यकामा पर्यटकहरूलाई लक्ष्य गरी गराइएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।
आक्रमणको जिम्मा पाकिस्तान-आधारित आतंकवादी संगठन लश्कर-ए-तैयबा समूहले लिएको छ। नेपालसहित अन्तर्राष्ट्रिय समुदायले घटनाको व्यापक निन्दा गरेको छ।



