काठमाडौं, ७ बैशाख । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आजदेखि सशक्त आन्दोलनमा उत्रिएको छ। आजको प्रदर्शनको लागि पार्टीले पूर्वघोषित रूपमा निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ, जसका कारण सरकारी संयन्त्र र सुरक्षा निकायहरू उच्च सतर्कतामा छन्।
यसअघि, गत चैत २५ गते बल्खुमा राप्रपाले शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो, जुन अपेक्षाअनुसार प्रभावकारी बन्न सकेको थिएन। त्यसपछि पार्टीले आन्दोलनलाई निरन्तरता दिने रणनीति तय गरेको छ र सरकारलाई दबाबमा ल्याउने तयारीमा लागेको छ।
अस्ति बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेपछि सरकार पनि केही सतर्क देखिएको छ। जनमानसमा भने तीनकुनेको चैत १५ गतेको हिंसात्मक घटनाजस्तै अवस्था नदोहोरिने हो कि भन्ने चिन्ता देखिएको छ। तर, पार्टीका शीर्ष नेताहरूले शान्तिपूर्ण आन्दोलनकै प्रतिबद्धता दोहोर्याइरहेका छन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीको नीति नै शान्तिपूर्ण आन्दोलन गर्ने रहेको स्पष्ट पारे। “राप्रपा कहिल्यै हिंसामा विश्वास गर्ने पार्टी होइन,” उनले भने, “सरकारले पनि अनावश्यक बल प्रयोग नगरोस् भन्ने हाम्रो अपेक्षा छ।”
प्राप्त जानकारीअनुसार, राप्रपाका कार्यकर्ताहरूले बानेश्वर, भद्रकाली र बालुवाटार क्षेत्रको निषेधाज्ञा तोड्ने प्रयास गर्ने छन्। यद्यपि, तोडफोड, आगजनी वा ढुंगामुढाको कुनै योजना नरहेको उच्च स्रोतले जनाएको छ। सुरक्षाकर्मीहरूसँग सामान्य धकेलाधकेल हुन सक्ने आँकलन गरिएको छ।
निषेधित क्षेत्रमा प्रवेश गर्ने क्रममा केही नेताहरूले गिरफ्तारी पनि दिन सक्ने बुझिएको छ। अध्यक्ष राजेन्द्र लिङदेनले समेत आफू थुनिन तयार रहेको अभिव्यक्ति दिएका छन्।
आजको प्रदर्शन दिउँसो १२ बजे विजुलीबजारबाट सुरु हुनेछ, जसको नेतृत्व अध्यक्ष लिङदेनले गर्नेछन्। उनी आफैं बानेश्वरतर्फ अघि बढ्ने तयारीमा छन्। बालुवाटारतर्फको प्रदर्शन डा. प्रकाशचन्द्र लोहनी र भद्रकालीतर्फको प्रदर्शन पूर्वमन्त्री विक्रम पाण्डेले नेतृत्व गर्ने सम्भावना छ।
तर, अन्तिम समयमा आन्दोलनको रणनीतिमा केही फेरबदल हुन सक्ने सम्भावना पनि रहेको स्रोतले जनाएको छ।
यसबीच, गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्रको उल्लंघन सह्य नहुने चेतावनी दिएको छ। मन्त्रालयले आन्दोलनलाई नियन्त्रण गर्न कडा कदम चाल्न सकिने संकेतसमेत गरेको छ।–00–


