हेटौंडा, ५ वैशाख । मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा भएको इभी गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको इभी गाडी मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा दुर्घटना हुँदा सर्लाहीको बागमती गाउँपालिका–७ की १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका–५ की ५० वर्षीया निलमदेवी राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार मगरको शव दुर्घटना स्थल नजिकैको खोल्सामा फेला परेको थियो भने राउतको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन्। चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहित अन्य घाइतेहरूलाई हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको गाडी सडकको मोडबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । । घटनाको थप अनुसन्धान भइरहेको छ।–00–


