काठमाडौं ३ बैशाख । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले बुधबार हङकङमाथि सहज जित हात पारेको छ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन मात्र बनाउन सक्यो। जवाफी ब्याटिङमा नेपालले ११६ रनको लक्ष्य १२.३ ओभरमै एक विकेटको क्षतिमा भेट्टाउँदै सानदार जित दर्ता गर्यो।
नेपालका लागि ओपनर साहिल पटेलले आक्रामक ४२ रन बनाए। नरेन भट्टले ३९ रन र निरज यादवले २३ रनको योगदान दिए। हङकङका लागि शिव माथुरले सबैभन्दा बढी ६३ रन बनाए भने आर्या पन्जवानीले १३ रन र वीर माथुरले १२ रन बनाए।
नेपालका बलरमध्ये युवराज खत्री सबैभन्दा प्रभावशाली रहे। उनले १० ओभर बलिङ गर्दै ४ विकेट लिए। त्यसैगरी विपिनप्रसाद शर्माले ३ विकेट, सन्तोष यादवले २ विकेट र अशोक धामीले १ विकेट लिए।
यो जितसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ।–00–


