भरतपुर, ५ जेठ । । पुरूषमा हुने प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाका लागि चितवनमा मोटरसाइकल र्याली आयोजना गरिएको छ । रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनले शनिबार विहान सचेतनामूलक मोटरसाइकल र्याली ‘डिस्टिङ्गुइस्ड जेन्टलमेन्स राइड–२०२४’आयोजना गरेको हो ।
यो एक अन्तर्राष्ट्रिय कार्यक्रम हो जुन संसारका विभिन्न प्रमुख सहरहरुमा प्रत्येक वर्ष हुने गर्दछ भने नेपालमा पनि यस वर्ष चितवन, काठमाडौं, धरान र हेटौडामा स्थानीय माेटरसाइकल क्लब हरुको सहभागितामा भव्य रूपमा आयोजना गरिएको छ। र्यालीमा १३९ वटा क्लासिक भिन्टेज मोटरसाइकलहरु सहित औपचारिक ड्यापर ड्रेसमा विभिन्न उमेर समुहका १८० राइडर्सहरु सहभागि थिए । जसमा अधिक्तम पुरुष थिए भने केही महिला र बालबालिकाको पनि सहभागी भएको रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनका अध्यक्ष प्रितम श्रेष्ठले बताए । क्लबले चितवनमा विगत छ वर्षदेखि यस्तो सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।
कार्यक्रमका सहजकर्ता रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनका सदस्य र बकुलहर रत्ननगर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. शशांक कुमार सिंहले प्रोस्टेट क्यान्सर र पुरुषको मानसिक स्वास्थ्यसम्बन्धी सचेतना वृद्धिका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । सोही प्रयोजनका लागी जनमानसको ध्यानाकर्षण गर्न मोटरसाइकल र्यालीको आयोजना गरिएको उनको भनाई छ । ।
उक्त कार्यक्रम शनिबार बिहान ९ बजे भरतपुर महानगरपालिकाको कार्यालय अगाडिबाट सुरू गरी वीरेन्द्र चोक, विशाल चोक हुँदै बाईपास रोडबाट भरतपुर बसपार्क चोक हुँदै हाकिम चोक, चौबिस्कोठी, शहीद चोक, पुल चोक हुँदै नारायणी किनार बाट पोखरा बसपार्क र आँपटारी चोक हुँदै भरतपुर भ्रमण वर्षलाई पनि प्रोत्साहन गर्न सहरका विभिन्न क्षेत्रको परिक्रमा गरी बाइपास रोडस्थित अताली रेस्टुरेन्टमा पुगेर बृहत जनचेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रम गरेर सम्पन्न भएको उनले जानकारी दिए।
कार्यक्रममा प्रोस्टेट क्यान्सर बारे पुरानो मेडिकल कलेज र देव अस्पतालका युरोसर्जन डा. भुषण राज तिमिल्सिना र मानसिक स्वास्थ्य बारे ब्युटिफुल माइण्डका मनोचिकित्सक डा. गिरीराज भन्तानाले सचेतना प्रदान गरे ।
डा. तिमिल्सिनाको अनुसार ५० वर्ष उमेर नाघेका पुरूषमा प्रोस्टेट क्यान्सरको जोखिम बढी हुन्छ। प्रोस्टेट क्यान्सर प्रोस्टेट ग्रन्थीबाट सुरू हुन्छ जुन सबै पुरूषको मूत्राशयको नली आसपासमा रहेको हुन्छ । प्रोस्टेटले एक गाढा तथा सेतो तरल पदार्थ बनाउँछ । यसले अण्डकोषद्वारा निर्मित शुक्राणुसित मिलेर वीर्यको उत्पादन गर्छ, जसले वीर्यलाई तरल बनाउँछ । प्रोस्टेट ग्रन्थीको पछाडिको भाग गुदद्वारको नजिक रहेको हुन्छ । जब यो ग्रन्थीका कोशिका असामान्यरुपमा बढ्छ तब प्रोस्टेट क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले समय-समयमा चिकित्सकलाई भेटी रगतमा PSA, प्रोस्टेटको अल्ट्रासाउन्ड र शारीरिक DRE परीक्षण गर्नुपर्ने उनले बताए।
डा. भन्तानाले पनि मानसिक स्वास्थ्य मानव जीवनको अभिन्न पाटो रहेको र यसका लागी पनि हामीले अरू विषय जसरिनै एकआपसमा कुरा गर्ने बानी बसाल्नु पर्ने बताए। टाउकोमा लाग्ने चोट, कुपोषण, लागू औषध दुर्व्यसन, जीवनका नराम्रा भोगाइ, दुर्घटना, यातना, आघात, हिंसा आदि कारणले मनका भावना, सोच र व्यवहारमा असर पुग्छ । यदि त्यस्तो असर लगातार रूपमा दुई हप्ताभन्दा बढी समयसम्म देखा परिरहेमा मानसिक स्वास्थ्य समस्या हुनसक्छ। धेरैजसो मानसिक समस्यालाई समयमै सहयोग गर्न सकिए प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ ।
यस्तो सहयोग परिवार, साथीभाइ र छरछिमेकले पनि उपलब्ध गराउन सक्छन् र आवश्यकता अनुसार मनोचिकित्सकको समेत सहयोग लिन सकिन्छ। मानसिक रूपमा स्वस्थ्य रहनका निम्ति निम्न कुराहरूमा ध्यान दिन वा गर्नसकिन्छ जस्तै मनका कुरा साथीभाइ, आफन्त वा मन मिल्ने मान्छेसँग खोल्ने वा भन्ने बानी विकास गर्ने, नियमित व्यायाम र आराम गर्ने, पोषणयुक्त र सन्तुलित खाना खाने, आफ्ना लागि समय निकाल्ने वा धेरै तनावमा नरहने प्रयास गर्ने, योग र आरामदायी अभ्यास गर्ने, रमाइला क्रियाकलापमा सहभागी हुने प्रयास गरिरहने, व्यस्त र तनावग्रस्त जीवनशैलीबाट परिवारका लागि प्रशस्त समय निकाल्ने ।
कार्यक्रमका सहजकर्ता र क्लबका उपाध्यक्ष मन्दिप मान श्रेष्ठले आफुहरुले मोटरसाइकल र्यालीमा सम्मिलित राइडर्सहरुको लागी विभिन्न पुरस्कार पनि प्रदान गरेको जानकारी गराउनु भयो। पुरस्कार पाउने हरुमा भेट्रान राइडर ५४ वर्षका क्यानाडाका नागरिक माईकल बेली, वेस्ट क्लासिक भिन्टेज बाइक राजन गुरुङ, वेस्ट ड्यापर ड्रेस सम्भव विसी, यौंगेष्ट पार्टिसिपेन्ट एलभिन् श्रेष्ठ र प्रेस्ता श्रेष्ठ हुनुहुन्थ्यो भने उक्त र्यालीको प्रमुख आकर्षण हरुमा ५१ वर्ष पुरानो १९७३ मोडेलको बुलेट, राजदूत, यामाहा RX 100, होण्डा र विभिन्न क्लासिक भिंटेज बाइकहरु रहेको थियो भने कुनैपनि अत्यधिक ध्वनी तथा वातावरण प्रदुषण गर्ने बाइकहरुलाई आयोजकद्वारा सम्मिलित हुने अनुमति दिइएको थिएन।
कार्यक्रममा इन्जिनियर उदय श्रेष्ठ, अलिफ गुरुङ, संतोष सदसंकर, मदन गुरुङ, समीर लामा लगायतका गायक तथा संगीतकार हरुको मनोरञ्जनात्मक प्रस्तुति पनि रहेको क्लबका सचिव रुक्सन गुरुङले बताए। डा. सिंहले रोयल राइनो राइडर्स मोटरसाइकल क्लबका तर्फबाट कार्यक्रमलाई सफलतापूर्वक समापन गर्न मद्दत गर्ने चितवन जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी, सम्पूर्ण मिडियाकर्मी लगायत सबै पक्षलाई धन्यवाद दिँदै निकट भविष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने हाम्रो क्लबको योजना रहेको पनि जानकारी दिए।








