काठमाडौँ, १६ फागुन । पूर्वी चितवनको रत्ननगर स्थित एकता शिशु निकेतनका प्रिन्सिपल सहित तीनजना पक्राउ परेका छन् । रत्ननगरको वडा नं. १० स्थित एकता शिशु निकेतनको छात्राबासमा शंकास्पद तरिकाले छात्राको मृत्युभएको जाहेरीको आधारमा पक्राउ गरिएको हो । पक्राउपर्नेमा स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र छात्राबासका वार्डेन रहेका छन् । चितवन अदालतले थप अनुसन्धानका लागि सात दिन म्याद दिएको छ ।
कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन पोखरेल शनिवार छात्राबासमै मृत भेटिएकी हुन् ।
शालिनको परिवारले मारेर झुण्ड्याएको आरोप लगाएका छन् । घटनाको झिनोगरी अनुन्धानगर्नुपर्ने भन्दै मृतकका परिवारले स्कुलका प्रिन्सिपल लगायतका विरुद्ध जाहेरी दिएका थिए ।
शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् । बुवा र आमा सम्बन्ध बिच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाडौँमा बस्छन् । उनी पछिल्लो समय रत्ननगर–१५ स्थित माधवपुरमा रहेको मामाघरमा बस्थिन् । पक्राउ गरिएकाहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।–00–


