रत्ननगर, २७ पौष । चितवनको सौराहामा आयोजना गरिएको एक महिने सीप मूलक थारु परम्परागत ढकिया बुनाई तालिम शुक्रवार सकिएको छ ।
थारु आयोगको आर्थिक सहयोगमा विश्व परिदृष्य नेपाल काठमाण्डौंले थारु कल्याणकारिणी सभा चितवनसँग समन्वय गरेर तालिम आयोजना गरेको थियो । प्रतिनिधि सभा सदस्य एवम् थारु आयोगका सदस्य सुवोध सिंह थारुको प्रमुख आतिथ्यतामा आयेजना गरिएको समापन कार्यक्रममा थारु आयोगका उप सचिव घनश्याम उपाध्याय, परिदृष्य नेपालका कार्यक्रम संयोजक अशोककुमार थारु, थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद वासुदेव चौधरी, धञ्जु महतो, थाकस क्षेत्र नं. ८ का सभापति रामेश्वर महतो, क्षेत्र नं. ६ का सभापति राधा चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा रत्ननगर र खैरहनीका ३० जना महिलाहरु सहभागी थिए । थाकस चितवनका जिल्ला उप सभापति पूर्ण महतोले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम जिल्ला सभापति ललित चौधरीको अध्यक्षतमा आयोजना गरिएको हो ।









