बालबालिकाहरुको सिकाइ सहजीकरणको लागि समावेशी शैक्षिक सामाग्री हस्तान्तरण

कालिका, १८ पौष । अटिजम केयर सोसाईटीले कालिका नगरपालिका क्षेत्रभित्रका पाँचवटा सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । समावेशी शिक्षा परियोजना अन्तर्गत पौष १७ गतेका दिन भीमोदय नमुना माध्यमिक विद्यालय, जनहित आधारभूत विद्यालय, पृथ्वी माध्यमिक विद्यालय, चर्तुमुखी माध्यमिक विद्यालय र राष्ट्रिय माध्यमिक विद्यालय मजवाङ्गलाई तीन लाख सत्तरी हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको हो ।

परियोजनाले यी पाँच विद्यालयमा समावेशी शिक्षाको नमुना विद्यालयको रूपमा विकास गर्न थप प्राथमिकताका साथ काम गरिरहेको छ। यी विद्यालयहरुमा समावेशी शैक्षिक सामाग्री आवश्यकता पहिचान गरी शैक्षिक सामाग्री वितरण गरिएको हो। वितरण गरिएको सामग्रीहरू तीन लाख सत्तरी हजार रुपैयाँ बराबरको रहेको छ। कार्यक्रममा अटिजम केयर चितवन सोसाइटीको सचिव सुनिलचन्द्र शर्माको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कालिका नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ४ का वडाध्यक्ष मकरमान श्रेष्ठको प्रमुख आतिथ्य, शिक्षा, युवा तथा खेलकुद शाखाको प्रमुख गंगाधर रिमालको बिशिष्ट आतिथ्यमा सञ्चालन भएको थियो।

कार्यक्रममा श्रेष्ठले समावेशी शिक्षा परियोजनाले शिक्षा क्षेत्रमा गर्दै आइरहेका हरेक कार्यक्रमहरु निकै प्रभावकारी रहेको यसले अपाङ्गता र कार्यगत सीमितता भएका बालबालिकाहरुको सिकाइ सहजीकरणको लागि गरेका प्रयासहरू निकै राम्रो रहेको र यी शैक्षिक सामाग्रीहरुको विद्यालयले सही तरीका र ठाउँमा प्रयोग गर्नेछ भन्नेमा म विश्वस्त रहेको बताउनु भएको थियो।

औपचारिक कार्यक्रमको समापन सभाध्यक्ष सुनिलाचन्द्र शर्माले गर्नु भएको थियो। सामाग्री विद्यालयका शिक्षकहरुलाई सामाग्रीहरुको बारेमा प्रयोग गर्ने विविध तरिकाहरुको जानकारी ह्याण्डिक्याप इन्टरनेसनल नेपालका परियोजना अधिकृत राजभक्त डंगोलले सहजीकरण गर्नुभएको थियो। साथै घरमा आधारित शिक्षाा पाइरहेका बालबालिकाहरु मध्ये दुई जना कञ्चन रेग्मी र अंकुर श्रेष्ठलाई ह्विलचियर वितरण गरिएको छ। पालिकाको महिला तथा बालबालिका शाखा प्रतिनिधि सविना श्रेष्ठ, अपाङ्गता समन्वय समितिका प्रतिनिधि लगायतको उपस्थितिमा वितरण गरिएको थियो । कार्यक्रम कालिका नगरपालिका वडा नं ७ स्थित पृथ्वी माध्यमिक विद्यालयको परिसरमा आयोजना गरिएको हो ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु