काठमाडौं, २१ भदौं । काठमाडौं महानगरपालिका – १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।
उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् ।
महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान- ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।
रिजाल कांग्रेसबाट दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका थिए। रिजालले ४ हजार १९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी रत्न तुलाधरले ३ हजार ३१० मत पाएका थिए।–00–


