कालिका, १२ भदौं । गाईभैसीमा देखिने लम्पी स्किन रोग विरुद्धको खोप अभियानले कालिका नगरक्षेत्रका किसानहरु उत्साहित भएका छन् । किसानहरुको गोठमा महामारीको रुपमा फैलिरहेको लम्पी स्किन रोगलाई नियन्त्रणमा लिन नगरपालिकाले देखाएको चासोले ठूलो क्षतिहुन बाट किसानहरु जोगिएको बताएका छन् । नगरपालिकाले संचालन गरेको खोप अभियानको प्रभावकारीता बुझ्न किसानहरुको घरघर पुगेको अनुगमन टोलीलाई यस्तो बताएका हुन ।
कालिका वडा नं. ११ बस्ने स्थानीय टोल विकास संस्थाका संयोजक समेत रहेका गुदल चेपाङले नगरपालिकाले संचालन गरेको अभियानले पहाडी क्षेत्रका किसानहरुलाई राहत पुगेको बताए । प्रत्येकको घरघरमा पुगेर प्राविधिकहरुले खोप लगाएका कारण पशुहरुमा लम्पी स्किन रोगको महामारी फैलिन नपाएको उनले बताए । पहाडमा बसेका चेपाङलाई खोप किन्नै समस्या छ । आर्थिक अभावमा रहेका चेपाङहरुलाई खोप कहाँपाइन्छ ? कति पैसा मूल्य पर्छ भन्ने समेत हेक्का नभएको बेला निशुल्क रुपमा प्राविधिहरु आफै आएर खोप लगाईदिँदा यहाँका चेपाङहरु निकै खुशी छन उनले थपे ।
वडा नं. ११ कै मिलन चेपाङपनि नगरपालिकाको अभियानप्रति खुशी व्यक्त गरे । फोन गरेकै भरमा नगरपालिकाको प्राविधिकवाट आफुले सेवा पाएको उनले बताए । डाँडामाथी घर भएपनि प्राविधिकहरु घरमै पुगेर आफ्नो गोठमा रहेका गाईहरुलाई खोप लगाइदिएको बताए । गोठमा भएका चारवटा बाच्छा बाच्छीमा संक्रमण देखिएको थियो । प्राविधिकलाई बोलाएर देखाए । खोपसँगै अन्य औषधी उपचार गरिदिए उनले भने म अत्यन्तै खुशी छु ।
वडा नं. १० र ११ पहाडी क्षेत्र पर्दछ। वडा नं. ११ को नान्दरमा लम्पी स्किन रोग देखा परेको हो । यो क्षेत्रमा नगरपालिका अन्तर्गत पशु शाखाले दविलाल प्रजालाई प्राविधिकको रुपमा परिचालन गरेको छ । प्रजाका अनुसार वडा नं. ११ मा १ सय २३ वटा गाईगोरुमा खोप लगाइसकेको छ । यस्तै २१ वटा बाच्छाबाच्छीमा खोप लगाएको छ । यो वडामा भैसीपाडा पालेको भेटिएको छैन ।
यस्तै वडा नं. १० मा ६१ वटा गाईगोरुमा खोप लगाइएको छ । यस्तै १२ वटा बाछाबाच्छीलाई खोप लगाइएको छ भने २४ वटा भैसी र ६ वटा पाडापाडीमा खोप लगाइसकेको प्राविधिक दविलाल प्रजाले जानकारी दिए ।
यस्तै वडा नं. ९ मा ५ सय ५० वटा पशुहरुमा खोप लगाईसकेको अर्का प्राविधिक सन्तोष विश्वकर्माले जानकारी दिए । अझै लगभग ३ सय पशुहरुमा खोप लगाउन बाँकी छ । वडानं. ९ को माथिल्लो भेग पहाडी क्षेत्र पर्दछ । पहाडी क्षेत्रमा खोप लगाउन बाँकी रहेको प्राविधिक विश्वकर्माले बताए ।
वडा नं. ८ मा भने ८ सय २५ वटा पशुमा खोप लगाइसकेको छ । अझै ३ सयको हाराहारीमा लगाउन बाँकी छ । खोप लगाउँदा पशुहरुमा कुनै साईड इफेक्ट नदेखिएको स्थानीय उत्थान दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष राजेन्द्र ढुंगानाले बताए । दैनिक १८सय २५ लिटर संकलनहुँदै आएको सहकारीमा अहिलेपनि सोही परिणाम बराबर दुग्ध संकलन हुँदै आएको बताए । आजमात्रै फाइल हेरें १९ सय लिटर पुगेको रहेछ उनले थपे । पशुहरुमा बेला बेला विभिन्न खालका रोगहरु आउनु किसानहरुका लागि नौलो होइन । तर महामारीकै रुपमा फैलिदै आएको लम्पी स्किनले किसानहरु आतिएका थिए । सहकारीले नगरपालिकासँग समन्वय गरेर साउन २५ गतेदेखि अभियानकै रुपमा खोप बोकेर प्राविधिकहरु किसानको गोठगोठमा परिचालित भए त्यसले किसानहरुमा आशा थपियो सहकारी संस्थाका अध्यक्ष ढुंगानाले भने अहिले किसानहरु सुरक्षीत महशुस गर्न थालेका छन् ।
कालिका नगरपालिका अन्तर्गत पशु शाखा प्रमुख इश्वरी प्रसाद पौडेलले कालिकाको वडा नं. १ देखि वडा नं. ११ सम्मका किसानहरुले खोप अभियानलाई सकारात्मक रुपमा लिएको बताए । कहिपनि खोपले असर नपारेको किसानहरुको प्रतिकृया छ पशु शाखा प्रमुख पौडेलले भने अझै केही वडाहरुमा खोप लगाउने क्रम जारी छ । केहीदिनमै खोप लगाएर सकिएपछि एक कार्यक्रमकाबीच यो अभियान समापन गरिनेछ ।
नगर उपप्रमुख विमला तमाङले अनुगमनको क्रममा नगरक्षेत्रभित्रका सातवटा दुग्ध उत्पादक सहकारी संस्थाका पदाधिकारीहरुसँग खोपको प्रभावकारीता बारे छलफल गरिएको बताइन । किसानहरु दुग्ध उत्पादक सहकारीसंस्थासँगै जोडिएकाले किसानहरुको प्रतिकृया लिन नगरक्षेत्रभित्रका सबै दुग्ध उत्पादक सहकारी संस्थामा पुगेको बताईन । महामारी नियन्त्रणका लागि नगरपालिकाले दुग्ध उत्पादक सहकारी संस्थाहरुसँग समन्वय गरेर संचालन गरेको अभियान पूर्ण रुपमा सफल हुँदै गएको बताईन । सबै किसानहरु खुशी छन उनले थपिन, किसानहरुको पशुधन सुरक्षागर्ने जिम्मेवारी र दायित्व स्थानीयतहकै भएकाले हामी अभियान संचालन गरेर आफ्नो जिम्मेवारी पुरा गरेको महशुस गर्न थालेका छौं नगर उपप्रमुख तमाङले भनिन ।
नगर उपप्रमुख तमाङको नेतृत्वमा नगरक्षेत्रभित्रका सातवटा दुग्ध उत्पादक सहकारी संस्थामा खोपकै प्रभावकारीताको विषयमा अनुगमन गरिएको थियो । वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, वडा नं. ७ का वडा अध्यक्ष कमलराज मोक्तान, आर्थिक विकास समिति संयोजक दीपक सिंह परियार, आर्थिक विकास समिति सदस्य फारमकुमारी ढकाल, सम्झना परियार, पशु शाखाका प्राविधिक हरीलाल डाँगी लगायतकाृे टोली अनुगमनमा सहभागी थिए ।














–00–


