रत्ननगर, ६ असार । पूर्वी चितवनको रत्ननगरमा शनिबार आयोजना गरिएको मुटु परीक्षण शिविरका ५१७ जनाको मुटु परीक्षण तथा उपचार गरिएको हो ।
रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रोटरी क्लव अफ रत्ननगरको सयुक्त आयोजनामा नेपाल मावि परिसरमा मुटु सम्बन्धी शिविर गरिएको हो । शिविरमा ५१७ जना मुटुरोगीको परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको रत्ननगर खानेपानीकी कोषाध्यक्ष सरस्वती लामाले जानकारी दिइन् ।
शिविरमा ३१८ जनाको इको, ४३५ जनाको इसिजी, सुगर तथा प्रेसर चेक गरिएको उनले जानकारी दिइन् । शिविर भरतपुर अस्पताल र बकुलहर रत्ननगर अस्पतालका विशेषज्ञ डाक्टर तथा मेडिकल अफिसरहरुले विरामीले स्वास्थ्य जाँच गरेका थिए । शिविरको एक औपचारिक कार्यक्रम कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । सो अबसरमा उनले मुटुरोग सर्वव्यापी समस्याको रुपमा अगाडि आइरकेको भन्दै उपचार र रोकथामको लागि स्थानीय सरकारले सहयोग गर्ने बताए ।
मुटु जोगाउन खानपान र रहनसहनलाई विचार गर्नुपर्ने बेला आएको भन्दै उनले यसको उपचार प्रक्रियालाई समेत राज्यले प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिए । मेयर सापकोटाले विपन्न नगरबासीको उपचारको लागि निःशुल्क स्वास्थ्य बिमा र बकुलहर रत्ननगर अस्पालतमा उपचारकोष स्थापना गरिएको बताए । कार्यक्रममा रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले खानेपानीका उपभोक्ताको स्वास्थ्य जोगाउन शिविर आयोजना गरिएको बताए । हामीले खानेपानी मात्र वितरण गर्दैनौं उनले भने उपभोक्ताको स्वास्थ्य प्रति उत्तिकै जिम्मेवार पनि छौं ।
रोटरी क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठले क्लवको उद्देश्य मुताविक रत्ननगर खानेपानीसंग सहकार्य गरी शिबिर आयोजना गरिएको बताए । रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वनले पूर्वी चितवनमा एउटा मुटुरोगको उपचारका लागि अस्पालत आवश्यक रहेको भन्दै तत्कालका लागि बकुलहर रत्ननगर अस्पतालमा विशेषज्ञ डाक्टर सहितको सेवा सुचारु गर्न सुझाब दिए ।
रत्ननगर खानेपानीका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रम सचिव प्रताप डल्लाकोटीले सञ्चालन गरेका थिए । नेपाल औषधि व्यवसायी संघ चितवन, भरतपुर अस्पताल, बकुलहर रत्ननगर अस्पताल, नेपाल मावि, रत्ननगर रेडक्रस र बास्तोला सर्जिकल सप्लायर्स भरतपुरको सहयोगमा शिविर गरिएको हो ।–00–


