चितवन, १० असार । आज देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्वजनिक गर्नुपर्नेछ । जसअनुसार असार १० गते स्थानीय तहले बजेट सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नका लागि अग्रिम जानकारी दिनुपर्नेछ ।
यसअघि दशवटा स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।
चितवनमा पनि यहाँका स्थानीयतहले आज बजेट सार्वजनिक गर्दैछ । कालिका नगरपालिका, खैरहनी नगरपालिका, रतननगर पालिका, राप्ती नगरपालिकाले अहिले ११ बजे बजेट सार्वजनिक गर्दैछ ।
भरतपुर महानगरपालिकाले अहिले साढे ११ बजे वीपी काेईराला मेमोरियल क्यान्सर अस्पतालकाे सभाहलवाट बजेट सार्वजनिक गर्दैछ ।
असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।–00-

