श्रमदानले चितवनको रामनगरबासीहरुमा ल्यायो खुशी, गाउँमै पुग्यो पानी

चितवन, ५ असार । भण्डै चार महिनाको अथक प्रयासपछि चितवनको रामनगरमा खानेपानी पुगेको छ । भरतपुर वडा नं. २९ स्थित खहरेखोलाको पानी ल्याउन स्थानीयले चार महिना श्रमदान गरेपछि खानेपानी रामनगर पुगेको हो । यो अभियानमा अन्य क्षेत्रका चितवनबासीले पनि श्रमदान गरेर साथ दिएका थिए ।

राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछानेको अगुवाईमा रामनगर, ठिमुरा क्षेत्रका स्थानीयहरुले श्रमदानगर्न सुरु गरेका थिए । सभापतिछ लामिछानेले रामनगर क्षेत्रका स्थानीयलाई पानी खुवाउँछु भन्ने बाचा गरेका थिए । बाचा अनुसार निर्धारित समयभित्रै खानेपानी रामनगर सम्म ल्याउन सफल भएको छ । रामनगरमा खानेपानीको चरम अभावहुँदै आएको छ ।

आठ किलोमिटर लामो दूरीमा नयाँ पाइप बिछ्याएर रामनगरस्थित ट्याङ्कीमा पानी झारिएको छ । गाउँमा पानी आएपछि स्थानीय मख्ख छन् ।

विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुआत भएको थियो । त्यसबेला रामनगरमा चारवटा पानी ट्याङ्की निर्माण गरिएका थिए । जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्याङ्की क्षेत्र झाडीमा परिणत भएको थियो । अहिले सोही ठाउँमा सरसफाइ गर्दै खानेपानीका ल्याइएको हो ।

रामनगर क्षेत्रमा हरेकको घरमा इनार भए पनि जनघनत्व बढ्दै जाँदा खानेपानीको अभाव पनि बढ्दै गएकाले खहरेखोलाको पानी ल्याउनुपरेको हो । खहरेखोलाबाट खानेपानी आएपछि दीर्घकालीन समस्या समाधानहुने विश्वास छ । त्यतिखेर जाइकाले निर्माण गरेकै ट्याङ्कीलाई प्रयोग गरेर खानेपानी विस्तार गरिएको सभापति लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।

श्रमदानबाट खानेपानी ल्याउन करिब रु एक करोड खर्च भएको जनाइएको छ । आठ किलोमिटरको दूरीमा नयाँ पाइप खरिद र बिछ्याउने तथा ट्यांकी मर्मत र सरसफाइ तथा प्राविधिक खर्च गरी करिब एक करोड खर्च भएको अनुमान छ ।–00–

Share:

सम्बन्धित समाचारहरु