काठमाडौं, १५ बैशाख । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले लामिछाने र वाग्लेलाई शपथ गराएका हुन् ।
यही वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने र तनहुँ–१ बाट निर्वाचित रास्वपाकै डा। वाग्ले निर्वाचित भएका थिए । बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले भने आज शपथ नलिएको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
“सभामुखज्यू र उहाँ (उपेन्द्र यादव)को अनुकूल समयमा पछि शपथको कार्यक्रम तय गर्नेछौँ,” उनले भने, “आज उहाँले नभ्याउने सूचना आएको थियो ।” जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले यादव काठमाडौंबाहिर रहेको जानकारी दिए ।–00–


