काठमाडौं । १० दलीय सत्ता गठबन्धनले आज बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकबाट यस्तो निर्णय गरिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (माओवादी)केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए ।
दल र नेताहरूले केही साना सुझाव भए दिन सक्ने र ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको उनले जानकारी दिए ।
“राजनीतिक दलहरूको बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो । मोटामोटी रूपमा सहमति भएको छ, सबै बीचमा,” उनले भने, “सानातिना सुझावहरू केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ । लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मूलभूत रूपमा सहमति भएको छ ।”
महासचिव गुरुङले आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि स्पष्ट पारे ।–00–


