अबदेखि सार्वजनिक सूचनामा ऋणीको फोटो प्रयोग गर्न नपाइने

काठमाडौं २६, माघ । बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर सूचना प्रकाशित हुँदा अबदेखि ऋणीको फोटो सार्वजनिक गर्न नपाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशिका जारी गर्दै ऋण नतिर्ने ऋणीको सूचना प्रकाशित गर्दा फोटो सार्वजनिक नगर्न भनेको छ । बैंंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले नियमित रुपमा ऋणको किस्ता तथा ब्याज नतिरेपछि राष्ट्रिय स्तरको पत्रिकामा फोटो सहितको सूचना तथा लिलामी गर्ने जानकारी आउने गर्छ ।

“कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाइने छैन,” राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

राष्ट्र बैंकले ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको कुनै अवस्था देखिएमा बैंक तथा वित्तीय संस्थाले कर्जालाई पुनर्तालिकीकरणरपुनर्संरचना गर्न सक्ने जनाएको छ । यसको लागि ऋणीको लागत बढेमा, परियोजनको समय बढेमा तथा नगद प्रवाह बढेको भए पुनर्संरचना पुनर्तालिकीकरण गर्न सकिने छ ।

एकीकृत निर्देशिकामा कर्जाको किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी भए पनि प्रतिकूल बाह्य अवस्था वा अन्य कुनै कारणले ऋणीको भविष्यका किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी हुन नसक्ने अवस्था सिर्जना भएमा पुनर्संरचना तथा पुनर्तालिकीकरण हुने उल्लेख छ ।

ऋणी कम्पनी नेपाल स्टक एक्सचेन्ज लि। बाट डिलिस्टी भएमा वा डिलिस्टी हुने प्रक्रियामा रहेमा कर्जाको किस्ता वा ब्याज भुक्तानीको लागि ऋणीको वास्तविक वित्तीय अवस्था वा अनुमानित वित्तीय अवस्था पर्याप्त नभएमा यस्तो सुविधा दिन सकिने छ ।

राष्ट्र बैंकले कर्जाको वर्गीकरणको व्यवस्था असर कर्जाको नोक्सानी व्यवस्थाको लागि छुटउनुपर्ने रकम बढाएको छ । अहिलेसम्म असल कर्जाको नोक्सानी व्यवस्थाको लागि एक प्रतिशत छुटउनुपर्नेमा अबदेखि १.३ प्रतिशत राख्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

एक वर्षभन्दा बढी ग्रेस अवधि भएका ऊर्जालगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.३ प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ ।–00–

 

Share:

सम्बन्धित समाचारहरु