महिना दिन कट्यो सर्वाेच्चको आदेश अझै उठेन पुरेको फोहोर

भरतपुर,२५ माघ । सर्वोच्च अदालतको आदेशपछि पनि भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीकिनारमा पुरेको फोहोर अझै उठ्न सकेको छैन । उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिकाको सहमतिमा नदीकिनारमा फोहोर पुरेर महोत्सव गरेपछि तत्काल फोहोर उठाउन माग गर्दै युवा अभियन्ताले सर्वोच्चमा रिट दायर गरेका थिए । नदीकिनारमा फोहोर नफाल्न र गाडेको फोहोर पनि तत्काल निकालेर अन्यत्र विसर्जन गर्न सर्वोच्चले पुस २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चितवनलगायतलाई अन्तरिम आदेश दिएको थियो, तर सर्वोच्चको आदेश अझैसम्म कार्यान्वयन भएको छैन ।

अन्तरिम आदेश दिनुनपर्ने कुनै कारण भए १५ दिनभित्र जवाफ पेश गर्न सर्वोच्च अदालतले विपक्षीको नाममा आदेश जारी गरेको थियो । यद्यपी सर्वोच्चले जवाफ मागेको ३२ दिन भन्दाबढी भइसक्दा पनि उवासंघ चितवनले जवाफ दिएको छैन, न फोहोर नै उठाएको छ । आफ्ना वकिलमार्फत सर्वोच्चलाई जवाफ दिने तयारी भइरहेको उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताएका छन् । ‘म्याद थप गरेर पहिला सर्वोच्चलाई जवाफ पठाउँदै छौँ । त्यसपछि के आदेश हुन्छ, त्यहीअनुसार गर्छौँ’, उनी भन्छन्, ‘सर्वोच्चलाई जवाफ दिनै बाँकी रहेकाले अरु केही काम गरेका छैनौँ ।’

भरतपुर महानगरपालिका वातावरण शाखा प्रमुख इन्जिनियर विराट घिमिरेले फोहोर पुर्ने मुख्य कर्ता उवासंघ चितवन भएकाले उसैले फोहोर उठाउनुपर्ने बताए । ‘उहाँहरुले फोहोर फाल्न सकिएन । सहयोग चाहियो भन्नुभयो भने महानगरले आफ्नोतर्फबाट केही सहयोग गर्न सक्छ’, उनी भन्छन्, ‘घटनाको कारक उहाँहरु नै हो । महोत्सव पनि सकियो । सर्वोच्चले पनि हटाऊ भनिसकेकाले त्यो उहाँहरुले नै हटाउने हो ।’ पुरेको फोहोर उठाउन र नारायणीमा फोहोर नफाल्न माग गरेका सामाजिक संघसंस्थाले विरोधका विभिन्न कार्यक्रम पनि गर्दै आएका छन् । नदी प्रदूषित भई वातावरण तथा जलचर प्राणीहरुमा नकारात्मक असर परेको र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको संविधानप्रदत्त मौलिक हकमा आघात पुगेको भन्दै बेटर चितवन, वे ग्रुप, हाम्रो दृष्टि राम्रो दृष्टि, नेपाल डेभलपमेन्ट सोसाइटीलगायतले ‘सेभ नारायणी’ अभियान नै सञ्चालन गरेका छन् ।

सर्वोच्चको आदेशपछि पनि फोहोर नउठेपछि आफूहरु चिन्तित भएको सेभ नारायणीका अभियन्ता इन्जिनियर सागर कार्कीले बताए । आफूहरु कडा खालको विरोध कार्यक्रम गर्ने तयारीमा लागेको उनले बताए । फागुन २५ गतेपछि मात्रै सर्वोच्चमा अपहेलनाको मुद्दा दर्ता गर्न सकिने भएकाले त्यसअघि विभिन्न कार्यक्रम गर्ने उनीहरुको योजना छ । ‘हामी महोत्सवपछि फोहोर हट्छ कि भन्ने आशामा थियाँैं । महोत्सव सकिएकै दिन मात्र सर्वोच्च अदालतको आदेश पनि सार्वजनिक भयो’, उनी भन्छन्, ‘यतिका दिन बितिसकेको छ, उद्योग वाणिज्य संघले भने फोहोर हटाउने कुनै संकेत नै दिँदैन ।

मैले केही दिनअघि पनि चुननारायण श्रेष्ठ सरसँग फोनमा कुरा गरे । उहाँले महानगरले स्विकृती नदिएकोले हटाउन सकेका छैनौँ भन्ने प्रतिक्रिया दिनुभयो ।’ मलमूत्रसहितको प्लास्टिकजन्य फोहोर नउठाइए आफू अनसनसम्म बस्ने तयारीमा लागेको उनको भनाइ छ । अदालतको अपहेलना मुद्दामा विपक्षीलाई कैद सजाय तोक्ने आदेशको माग गर्ने योजनामा पनि अभियन्ता रहेका छन् ।-केशव भट्टराई, चितवन पोष्टवाट
तस्बिर स् नारायणी किनारमा पुरिँदै गरेको फोहोर ।-

 

तस्बिर : नारायणी किनारमा पुरिँदै गरेको फोहोर ।

Share:

सम्बन्धित समाचारहरु