काठमाडौं,२५ माघ । चितवनको भरतपुर १६ मा तरकारी खेती गर्ने धनु अधिकारी अहिले गोलभेंडा प्रतिकेजी ७ रुपैयाँमा बेच्दैछिन् । राम्रो मूल्य पाएको दिनमा १० रुपैयाँसम्म पाउँछिन् । तर एक केजी गोलभेंडा उत्पादन गर्न १८ रुपैयाँ खर्च भएको उनको हिसाब छ, जसमा जग्गा भाडा, खनजोत, टनेल, मल, बीउ, विरुवा उत्पादन, सिँचाइ, विषादीदेखि ज्यालासम्म पर्छ । आफ्नो मिहिनेतको त हिसाबै छैन ।
धनुका अनुसार एक महिनायता गोलभेंडाको मूल्य हरेक दिन घट्दो क्रममा छ । निरन्तर मूल्य घटेपछि उनी छटपटिएकी छिन् । गोलभेंडा मात्र होइन, अरु तरकारीले पनि उचित मूल्य पाएको छैन । धनुले यसपाली काउली र गाजर पनि उब्जिएकी छिन् । ‘मैले १५ दखि २० रुपैयाँ किलोमा गाजर बेचेको छु,’ धनुले आक्रोश पोखिन् ‘काठमाडौंमा उपभोक्ताले कतिमा किनेका छन् रु’
चितवनमा किसानले ७ रुपैयाँमा बचेको गोलभेडाको औसत थोक मूल्य काठमाडौंको कालिमाटी बजाररमा २२ रुपैयाँ प्रतिकिलो छ । सहरका खुद्रा पसलमा त ६० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । सरकारले पनि कुनै हस्तक्षेप गर्न सकेको छैन । भारतबाट सस्तैमा तरकारी आएको भन्दै व्यापारीहरुले नेपाली किसानको तरकारी किन्नै आनाकानी गर्ने गरेको गुनासो गर्छन्, चितवनका अनुप सुवेदी । ‘भारतबाट ५ रुपैयाँ किलोमा गोलभेंडा आएको भन्दै हाम्रो किन्दैनन्’, सुवेदीले भने ‘अब कहाँ गएर आफ्नो उत्पादन बिक्री गर्ने रु हाम्रो लगानीको बजार खोइ ?