सौराहाका सुकुम्वासीलाई आफ्नै आश्रय स्थल जोगाउनै धौधौ, विकासको नाउँमा डोजर चलाए प्रतिकारमा उत्रिन्छौंःस्थानीय -भिडियो सहित

विजय चौधरी-
चितवन । बछौली स्कुलदेखि अलिपर चोकदेखि पूर्व लाग्नुभयो भने एउटा सुकुम्वासी बस्ती देख्नुहुनेछ । जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको पर्खालसँगै सीमा जोडिएको ४९ घरधुरीको सुकुम्वासी बस्ती छ । यो बस्तीका स्थानीयहरु केहीदिन यता बस्तीमा डोजर चल्ने खबरले मानसिक तनावमा छन् ।

रत्ननगर नगरपालिकाको वडा नं. ५ मापर्ने यो टोललाई मगरटोलले चिन्दछन् । यो सुकुम्वासीहरुको बस्ती हो । सामुदायिक वनकै जग्गामा बसोबासगर्दै आएको लामो समय भयो । नापी नभएका कारण भोगचलन गर्दै आएको जग्गा यिनीहरुको नाउँमा आउन सकेको छैन । थारु, बोटे, गुरुङ, दलित, क्षेत्री लगायत मिश्रीत समुदाय यहाँ बस्दै आएका छन् । यो बस्ती नयाँ होइन । चितवन राष्ट्रिय निकुञ्जसँग सीमाना जोडिएको जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रको भू भागमा यिनीहरु बस्दै आएको इतिहास पुरानो छ ।
मध्यवर्ती सामुदायिक वन तारवार नहुँदा ताकादेखि नै यो बस्ती यहाँ छ । जस्तापाताका घरदेखि पक्की ढलान सम्मका घरहरु यो बस्तीमा बनेको छ ।

 

संरक्षणकर्मीहरुका अनुसार वन र बन्यजन्तु संरक्षणमा यो बस्तीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। चरिचरनका कारण गौचरनको रुपमा परिणत बन्दै गएका ठाउँलाई संरक्षणगरी अहिले हरियो बाक्लो बनजंगल बनेको छ। जहाँ बाघ, भालु,गैडा सुरक्षित तरिकाले आश्रय लिने गरेका छन् । मानविय बस्ती र बन्यजन्तुबीच यिनीहरुनै पर्खालको कामगर्दै आएका थिए । तर अहिले यहि बस्ती डोजर चल्ने जोखिममा छ । खासमा कुरा के हो भने नेपाल सरकार अन्र्तगत शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले सौराहा बजार क्षेत्रको सौन्दर्यीकरणका लागि शहरी पूर्वाधार निर्माण परियोजना अगाडी बढाएको छ ।

सौराहाको ड्याम क्षेत्रदेखि बच्छेश्वर मन्दिर हुँदै हरनरी पुल जाने सड्कको लागि दाँयापट्टीको जंगलको पर्खालदेखि कम्तीमा १५ मिटर बाँयासम्म राईट अफ वे मा स्तरोन्ती गर्नुपर्ने भन्दै सो क्षेत्रमा पर्ने भौतिक संरचना तथा प्राकृतिक बस्तु सातदिन भित्र हटाउन रत्ननगर नगरपालिकालाई सहयोगका लागि पत्रचार गरेको छ । पत्रचारसँगै प्राविधिक टोली सो क्षेत्रमा नापजाँच समेत गरेका छन् । मध्यवर्ती सामुदायिक वनकै प्रवेशद्धार नजिकै योजना सम्बन्धि एउटा ब्यानगर समेत टाँस गरेका छन् । यो क्षेत्रमा स्तरोन्नतीपछि तयार हुने बाटोको अवस्थालाई स्केज गरी ब्यानरमा टाँसिएको छ।

यो योजना सुरुभयो भने मध्यवर्ती सामुदायिक वनको तारजाली लगाइएको वालदेखि यहाँका अधिकाङस घरहरु भत्किने पक्का छ । सौराहाको सौन्दर्यीकरणको बहानामा सुकुम्वासी बस्ती हटाउन लागेको भन्दै मगरटोलका स्थानीयहरु आक्रोशित छन् । यसरी विना विकल्प यो ठाउँ न छाड्ने अडानमा उनीहरु छन् । बर्षोदेखि भोगचलन गर्दै आएको जग्गा बाटो विस्तारको नाउँमा नछाड्ने उनीहरुको भनाई छ । विकल्प दिएर मात्रै यो ठाउँमा बाटो विस्तारगर्न उनीहरुले माग गरेका छन् । यहि विषयलाई लिएर सुकुम्वासीहरु केन्द्रीय नेतादेखि स्थानीय नेताहरुको घर धाउन थालेका छन् । तर ढुक्कहुनेगरी आश्वासन पाउनसकेका छैनन् ।

यो योजना सुरु गर्न टेन्टर प्रकृया समेत पुरा भइसकेको छ । त्यहाँ बनेका घर, प्राकृतिक सम्पदाहरु व्यवस्थापन भए लगतै निर्माणको काम अगाडी बढ्नेछ । तर स्थानीय सहजै यो योजना सुरु गर्न दिनेपक्षमा छैनन् । जनकौली मध्यवर्ती सामुदायिक वनले पनि यो विषयलाई गम्मीरताका साथ लिएको छ । विना परामर्श आफुखुशी परियोजना ल्याएको भन्दै विरोध गरेको छ । यो क्षेत्र अन्य क्षेत्रजस्तो होइन, वन र पर्यापर्यटनसँग जोडिएको छ वनका अध्यक्ष जोगेन्द्र महतोले बताए । यो क्षेत्रलाई भत्काउनुपूर्व धेरै कुरा सोच्नुपर्ने र बहसगर्नुपर्ने अध्यक्ष महतोको धारणा छ । वन मन्त्रालयदेखि चितवन राष्ट्रिय निकुञ्ज हुँदै मध्यवर्तीसँग यो परियोजनाले छलफल र परामर्श गर्नुपर्थो तर त्यसो भएको छैन–उनले थपे । निकुञ्जलाई समेत यो विषयमा जानकारी छैन । यसरी मनोमानी ढंगवाट ल्याउन खोजिएको यो परियोजना बन र बन्यजन्तु संरक्षणमा असर पनि पार्न सक्ने भन्दै आफुहरुको ध्यानाकर्षण भएको जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतोे भनाई छ । -00-

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु