रामनगर खानेपानी आयोजना : श्रमदानमा महिला देखिए अगाडि

जुगेडी । सामाजिक सञ्जाल पल्टाउनेहरु पक्ष–विपक्षमा उभिए पनि रामनगरका स्थानीय भने श्रमदानमा जुटेका छन् । भरतपुर महानगरपालिकाको वडा नं–२९ मा पर्ने मगर खहरेखोलाबाट भरतपुर–१ को रामनगर, ठिमुरा हुँदै देवघाट क्षेत्रमा खानेपानी झार्ने योजनासहित अहिले ट्याङ्की सरसफाइको काम करिब करिब अन्तिम चरणमा आइपुगेको छ ।

जनश्रमबाटै रामनगरमा पानी झार्न भन्दै सम्बन्धित क्षेत्रका स्थानीय दैनिक जनश्रममा जुटेका छन्, त्यसमा पनि पुरूषभन्दा महिलाको संख्या बढी देखिन्छ । महिलाले गर्न नसक्ने र नमिल्ने खालका बाहेक हरेक काममा महिला नै अगाडि छन् ।

दैनिक एक सय जनाको हाराहारीमा जनश्रममा जुटिरहेको रास्वपाका चितवन जिल्ला सचिव कृष्णप्रसाद भुसालले जानकारी दिए । भरतपुरको त्रिचोक घर भएका उनी पनि जनश्रममा निरन्तर खटिँदै आएका छन् । राज्यसत्तामा पुगेका दल र नेताहरुले तदारूकता नदेखाएका कारण नयाँ शक्तिलाई जनताले ठूलो विश्वास गरेको उनी बताउँछन् ।

सरकारले बजेट पारे पनि समयमा काम नगरिदिँदा आमसर्वसाधारणले उनीहरुबाट आश मारिसकेको उनको भनाइ छ । ‘त्यसैले रास्वपा र रवि लामिछानेलाई जसरी पनि जनताको सामु काम गर्नुपर्ने चुनौती छ’, उनी भन्छन्, ‘हामी नयाँ शक्ति पनि पुरानै शैलीमा गयौँ भने जनताका सबै चाहना अधुरा हुने हुँदा आफैँ खटिएर सकेको गर्ने प्रयासमा लागेका छौँ ।’ उनका अनुसार जनश्रममा पुरूषको तुलनामा महिलाहरु बढी उत्साहित छन् ।

रामनगरकै स्थानीय भोलादेवी कुँवर गुप्ताले घरको कामै छाडेर जनश्रममा जुटेको बताइन् । ‘खानेपानीको समस्या पुरूषले भन्दा महिलाले बढी भोग्नुपर्ने भएकोले हामीलाई जतिसक्दो चाँडो पानी झार्न पाए हुन्थ्यो भन्नेमात्रै लागेको छ’, उनी भन्छन्, ‘त्यसैले घरमा पसल नै बन्द गरेर जनश्रममा जुटेका छौँ ।’

भरतपुर–२०, सूर्यनगरकी राधा कुँवर पनि रवि लामिछानेको प्रयासलाई सफल पार्न भन्दै एक हप्तादेखि रामनगर माइतीमै आएर बसेकी छन् । चितवन क्षेत्र नं ३ का मतदाता भए पनि सकारात्मक कामका लागि जिल्लाको जुनसुकै क्षेत्रका सांसद्लाई पनि सहयोग गर्ने उनी बताउँछिन् । ‘त्यसैले माइत आएदेखि निरन्तर जनश्रममा खटिएकी छु’, उनी भन्छिन्, ‘जनप्रतिनिधि एक्लैलाई काम गर भनेर छाडिदियौँ भने कुनै पनि काम सफल हुँदैन, त्यसैले हामीले नै साथ दिनुपर्छ ।’

रामनगरकै स्थानीय शान्ति सुवेदीले पनि साँझ–बिहान घरको काम भ्याएर दिउँसो जनश्रममा आएको बताइन् । घरबाट पनि पूर्ण सहयोग मिलेकोले महिलाहरु समूह नै बनाएर जनश्रममा जुटेको उनी बताउँछिन् । ‘भन्न त सामाजिक सञ्जालमा रवि लामिछानेका बारेमा राम्रा–नराम्रा सबै प्रतिक्रिया आउँछन्, तर हामीलाई पानी चाहिएको छ । हामी हाम्रै लागि काममा खटिएका छौँ’, उनी भन्छिन्, ‘राम्रो काम गर्नेलाई जसरी पनि सहयोग गरिन्छ नै, चाहे जोसुकैले जेसुकै भनून् ।’

नेता लामिछानेले चुनाव जितेपछि रामनगरवासीलाई पानी खुवाउने भन्दै स्रोत खोज्ने क्रममा जापानी संस्था जाइकाले २०५२ सालमै निर्माण गरेको खानेपानी आयोजनालाई नै मर्मतसम्भार गरेर पानी ल्याउन मिल्ने देखिएपछि त्यही बेला निर्माण भएर बाढीले पुरेको ट्याङ्कीलाई नै सरसफाइ गरेर पानी ल्याउने प्रयास गरेका हुन् । अबको एक–दुई दिनमा ट्याङ्की सफा गर्ने काम सकिने रास्वपाले जनाएको छ ।

त्यसपछि पाइप बिच्छ्याउने काम थालिने रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । मुहानमा ट्याङ्की निर्माण गर्न नपरे पनि पाइपलाइनमा भने नयाँ पाइप नै बिच्छ्याउनुपर्ने देखिएको छ । पुराना पाइप सबै चोरी भइसकेकाले सबै नयाँ पाइप बिच्छ्याउनुपर्ने सिग्देलले बताए ।

मुहानबाट रामनगरसम्म आइपुग्दा करिब सात किलोमिटर नयाँ पाइप खर्च हुने उनको भनाइ छ । यता, भरतपुर महानगरपालिकाले पनि नगरकै योजनामा खानेपानीको काम सुरू भइसकेको दाबी गर्दै आएको छ ।-चितवन पोष्ट

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु